हितोपदेश 3:1-18
हितोपदेश 3:1-18 NNRV
हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख्। किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्पन्नता ल्याउनेछन्। भक्ति र विश्वासयोग्यताले तँलाई कहिल्यै नछोडून्, ती तैंले आफ्नो गलामा बाँधिराख्, आफ्नो हृदयको पाटीमा ती लेखिराख्। तब परमेश्वर र मानिसको दृष्टिमा तैंले निगाह पाउनेछस् र असल नाउँ कमाउनेछस्। आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। आफ्नै नजरमा बुद्धिमान् नहोऊ, परमप्रभुको भय मान् र दुष्कर्मलाई त्याग्। यसले तेरो शरीरलाई स्वस्थ तुल्याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ। आफ्नो धन-सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर, तब तेरा ढुकुटीहरू पोखुन्जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्। हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्कीलाई खराब नठान्, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्। धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ, र समझशक्ति हासिल गर्छ, किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ। त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। बुद्धिको दाहिने हातमा दीर्घायु, र त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू शान्तिका हुन्छन्। बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो, त्यसलाई पक्रनेहरूले आशिष् पाउनेछन्।

