हितोपदेश 21:15-31

हितोपदेश 21:15-31 NNRV

जब न्‍याय हुन्‍छ, धर्मीहरू हर्षित हुन्‍छन्, तर कुकर्मीहरू भने त्रासित हुन्‍छन्‌। समझदारीको मार्गबाट तर्किने मानिस मृतकहरूको सङ्गतमा लेट्‍न पुग्‍छ। सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्‍यै धनी हुनेछैन। धर्मीका छुटकाराको साधन दुष्‍टहरू हुनेछन्, र बेईमानहरूचाहिँ ईमानदारीसँग चल्‍नेको साधन हुनेछन्‌। झगड़ालु र रिसाहा पत्‍नीसँग बस्‍नुभन्‍दा बरु मरुभूमिमा बस्‍नु बेस। बुद्धिमान्‌ मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्‍छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ। धार्मिकता र प्रेमको पछि लाग्‍नेले जीवन, समुन्‍नति र आदर पाउँछ। बुद्धिमान्‌ मानिसले बलिष्‍ठको सहरमाथि आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको बलियो गढ़ खँगार पारिदिन्‍छ। आफ्‍नो मुख र जिब्रो सम्‍हाल्‍नेले आफूलाई आपद्‌-विपद्‌बाट जोगाउँछ। अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्‍ली उड़ाउने” हो, त्‍यसले अभिमानीसाथ व्‍यवहार गर्दछ। अल्‍छेको लालसाले नै त्‍यसलाई मार्नेछ, किनभने त्‍यसका हातहरू काम गर्न अस्‍वीकार गर्छन्‌। दिनभरि नै त्‍यसले झन्‌ बढ्‌ता लालसा गरिरहन्‍छ, तर धर्मीले मुट्ठी खोलेर दिन्‍छ। दुष्‍टको बलिदान घिनलाग्‍दो हुन्‍छ— खराब अभिप्रायले चढ़ाएको झन्‌ कत्ति बढ़ी घृणित होला! झूटो साक्षी नष्‍ट हुनेछ, त्‍यसको कुरा सुन्‍ने जोसुकै सधैँको निम्‍ति नष्‍ट हुनेछ दुष्‍ट मानिस साहसीजस्‍तै हिँड्‌छ, तर ईमानदारीसँग चल्‍ने मानिसले आफ्‍ना चालहरू विचार गर्छ। कुनै पनि यस्‍तो बुद्धि, अन्‍तर्दृष्‍टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्‍छ। युद्धका दिनको लागि घोडा तयार पारिन्‍छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्‍छ।