हितोपदेश 2:10-22
हितोपदेश 2:10-22 NNRV
किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ। विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ। बुद्धिले तँलाई दुष्ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। त्यस्ताहरू ईमानदारीको चाल त्यागेर अन्धकारमा हिँड्डुल गर्छन्, तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन्, र दुष्टको बदमाशीमा रमाउँछन्, जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्नै चालहरू कुटिल छन्। बुद्धिले तँलाई व्यभिचारिणी, र अनैतिक स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे, र परमेश्वरको सामु आफूले बाँधेको करारको बेवास्ता गरेकी छे। त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालो लैजान्छ, र त्यसको बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्छन्। त्यस स्त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्। यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्। किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्।

