हितोपदेश 2:10-22

हितोपदेश 2:10-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्‍ददायक हुनेछ। विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ। बुद्धिले तँलाई दुष्‍ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। त्‍यस्‍ताहरू ईमानदारीको चाल त्‍यागेर अन्‍धकारमा हिँड्‌डुल गर्छन्, तिनीहरू खराब काम गर्नमा प्रसन्‍न हुन्‍छन्, र दुष्‍टको बदमाशीमा रमाउँछन्, जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्‍नै चालहरू कुटिल छन्‌। बुद्धिले तँलाई व्‍यभिचारिणी, र अनैतिक स्‍त्रीका लोभ्‍याउने कुराहरूबाट जोगाउनेछ, जसले आफ्‍नो यौवनको पतिलाई त्‍यागेकी छे, र परमेश्‍वरको सामु आफूले बाँधेको करारको बेवास्‍ता गरेकी छे। त्‍यसको घरभित्र पस्‍नेलाई मृत्‍युले ओह्रालो लैजान्‍छ, र त्‍यसको बाटोमा लाग्‍नेहरू मृतकहरूको देशमा पुग्‍छन्‌। त्‍यस स्‍त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्‍यस्‍ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्‌। यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्‌। किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्‍यहाँ रहनेछन्‌। तर दुष्‍टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्‍वासघातीहरू झारझैँ फ्‍याँकिनेछन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्

हितोपदेश 2:10-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि बुद्धि तिम्रो हृदयमा पस्‍नेछ, र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ। विवेकले तिमीलाई हेरचाह गर्नेछ, र समझशक्तिले तिम्रो रक्षा गर्नेछ। बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग, र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ, जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि सीधा मार्गहरू त्यागेका छन्, जो खराबी गर्नमा रमाउँछन्, र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्, जसका चालहरू टेढा, र आफ्ना मार्गहरूमा कुटिल छन्। बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, र त्यसले परमेश्‍वरसित बाँधेको करारलाई इन्कार गरेकी छे। निश्‍चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्‍याउँछन्। त्यससित जाने पुरुष फर्किआउँदैन, न त जीवनको मार्ग नै प्राप्‍त गर्छ। यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ। किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्, तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।

शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्

हितोपदेश 2:10-22 पवित्र बाइबल (NERV)

बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ। ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ। ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ। यस्ता मानिसहरू ईमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्। तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्। तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिनीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग राख्छ। बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ। जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली। अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ र उसको पछि लाग्ने मर्नेछ। जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन। ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ। ईमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्। तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्

हितोपदेश 2:10-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तँ बुद्धिमान् बन्‍नेछस् र आफ्‍नो ज्ञानमा आनन्‍द पाउनेछस्। तेरा अन्‍तर्दृष्‍टि र समझशक्तिले तेरो रक्षा गर्नेछन्। अनि तिनले दुष्‍कर्म गर्नबाट तँलाई बचाउनेछन्, आफ्‍ना बोलीद्वारा अशान्‍ति गराउने मानिसहरूबाट तँलाई जोगाउनेछन्। त्‍यस्‍ता मानिसहरू धर्मी जीवन त्‍यागी पापको अन्‍धकारमा बास गर्छन् र खराबी गर्न र विवेकहीन दुष्‍ट्याइँमा आनन्‍द लिन्‍छन्, र भर पर्न नसकिने अविश्‍वासीहरू हुन्‍छन्। चाप्‍लुसी कुराले लोभ्‍याएर तेरो चरित्र नष्‍ट गर्न खोज्‍ने व्‍यभिचारिणी स्‍त्रीको तैंले सामना गर्न सक्‍नेछस्– जुन स्‍त्रीले आफ्‍ना लोग्‍नेसित विश्‍वासघात गर्दछे र आफ्‍नो पवित्र शपथ भुल्‍दछे। तँ त्‍यस स्‍त्रीको घर गइस् भने मृत्‍युमा पुग्‍नेछस्, त्‍यहाँ जानु नै मृत्‍यु-लोकमा जानु हो। त्‍यसकहाँ जाने कोही पनि फर्की आउँदैन अथवा त्‍यसले जीवनको मार्ग फेरि पहिल्‍याउन सक्‍दैन। यसैकारण तैँले असल मानिसहरूको चालमा चल्‍नुपर्छ र धर्मी जीवन बिताउनुपर्छ। धर्मी र इमानदार मानिसहरू यस देशमा बास गर्नेछन्। परमेश्‍वरले दुष्‍टहरूलाई देशबाट हटाउनुहुनेछ अनि पापीहरूलाई झार उखेलेझैँ जरैसमेत उखेल्‍नुहुनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 2 पढ्नुहोस्