अन्त्यमा भाइ हो, प्रभुमा आनन्दित होओ। तिमीहरूलाई त्यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्दैन, अनि त्यो तिमीहरूका सुरक्षाको निम्ति हो। कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस। किनकि परमेश्वरलाई आत्मामा पुज्ने र ख्रीष्ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्ने साँचो खतना हामी नै हौं। यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्ने कारण छ। कुनै मानिसले शरीरमा भरोसा राख्ने कारण छ भन्ठान्छ भने, मेरो त झन् बढ़ी कारण छ। आठौँ दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको, बेन्यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकताबमोजिम निष्खोट ठहरिएको हुँ। तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें। साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु, र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ, र उहाँको मृत्युमा उहाँजस्तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ। मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो! भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु।
फिलिप्पी 3 पढ्नुहोस्
सुन्नुहोस् फिलिप्पी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 3:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू