गन्ती 9:15-23

गन्ती 9:15-23 NNRV

पवित्र वासस्‍थान, गवाही-पाटीको पाल खड़ा गरेको दिन बादलले त्‍यसलाई ढाक्‍यो। पवित्र वासस्‍थानमाथिको त्‍यो बादल साँझ परेदेखि बिहानसम्‍मै आगोको जस्‍तै रूप देखा पर्‍यो। यो सधैँ यस्‍तै हुन्‍थ्‍यो— दिनमा बादलले ढाक्‍थ्‍यो, र राती आगोजस्‍तो देखा पर्थ्‍यो। जब-जब पालमाथिबाट बादल हट्‌थ्‍यो, तब-तब इस्राएलीहरू प्रस्‍थान गर्थे, र जुन ठाउँमा बादल अड़िन्‍थ्‍यो, त्‍यहीँ नै इस्राएलीहरूले पाल टाँग्‍थे। परमप्रभुको आज्ञामा इस्राएलीहरू प्रस्‍थान गर्थे, र परमप्रभुकै आज्ञामा तिनीहरूले पाल टाँग्‍थे। पवित्र वासस्‍थानमाथि बादल रहुञ्‍जेल तिनीहरू छाउनीमा नै वास बस्‍थे। धेरै दिनसम्‍म बादल पवित्र वासस्‍थानमाथि रहिरह्यो भने, इस्राएलीहरू परमप्रभुको आज्ञा मानेर प्रस्‍थान गर्दैनथे। कहिलेकहीँ पवित्र वासस्‍थानमाथि थोरै दिनसम्‍म मात्र बादल रहन्‍थ्‍यो। परमप्रभुको आज्ञाअनुसार तिनीहरू वास बस्‍थे, र परमप्रभुको आज्ञाअनुसार तिनीहरू प्रस्‍थान गर्थे। अनि कहिलेकहीँ साँझदेखि बिहानसम्‍मै मात्र बादल रहन्‍थ्‍यो, र बिहान बादल हटेपछि तिनीहरू प्रस्‍थान गर्थे। दिन होस्‌ वा रात होस्, बादल उठ्‌ने बित्तिकै तिनीहरू प्रस्‍थान गर्थे। दुई दिन वा एक महिना अथवा एक वर्ष भए पनि पवित्र वासस्‍थानमाथि बादल रहुञ्‍जेल इस्राएलीहरू प्रस्‍थान गर्दैनथे, तर बादल हट्‌ने बित्तिकै तिनीहरू प्रस्‍थान गर्थे। परमप्रभुको आज्ञामा तिनीहरूले पाल टाँग्‍थे, र परमप्रभुकै आज्ञामा तिनीहरू प्रस्‍थान गर्थे। परमप्रभुले मोशाद्वारा जस्‍तो आज्ञा गर्नुभयो, तिनीहरूले त्‍यही पालन गर्थे।