बालाम बिहानै उठे, र आफ्नो गधामा काठी कसेर मोआबका मुख्य व्यक्तिहरूका साथमा गए। तर तिनी गएका हुनाले परमेश्वर रिसाउनुभयो, र परमप्रभुका दूतले आएर तिनको बाटो रोकिदिए। तिनी आफ्नो गधामा चढ़ेर जाँदैथिए। तिनका दुई जना नोकरहरू पनि तिनीसितै थिए। परमप्रभुका दूतलाई थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका त्यस गधाले देख्यो, र गधा बाटोदेखि तर्केर खेततिर लाग्यो। गधालाई बाटोतिर फर्काउन बालामले पिटे। दुवैतिर पर्खाल लगाइराखेको, दुई वटा दाखबारीका बीचको छेड़ोमा दूत उभिए। परमप्रभुका दूतलाई देखेर गधा पर्खालमा मिचिन पुग्यो र बालामको खुट्टा त्यसले पर्खालमा चेप्ट्याइदियो। तिनले त्यसलाई फेरि पिटे। फेरि परमप्रभुका दूत अझै पर गएर दाहिने-देब्रे कतै पनि फर्कन नसक्ने साँघुरो ठाउँमा उभिए। गधा परमप्रभुका दूतलाई देखेर थचक्क बस्यो। तब बालामलाई रीस उठ्यो, र आफ्नो लहुरोले गधालाई पिट्न लाग्यो। तब परमप्रभुले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु, र तपाईंले मलाई तीन पल्ट पिट्नुभयो?” बालामले गधालाई भने, “तैंले मलाई मूर्ख तुल्याइस्। मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मारिहाल्नेथिएँ।” गधाले बालामलाई भन्यो, “तपाईंले आफ्नो जीवनभरि आजको दिनसम्म चढ्नुभएको तपाईंकै गधा म होइनँ र? मैले कहिल्यै तपाईंसित यस्तो गरेको थिएँ?” अनि तिनले भने, “अँहँ, गरिनस्।” तब परमप्रभुले बालामका आँखा खोलिदिनुभयो, र थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका परमप्रभुको दूतलाई तिनले देखे। अनि शिर निहुराएर तिनी घोप्टो परे। तब परमप्रभुका दूतले तिनलाई भने, “तैंले किन आफ्नो गधालाई तीन पल्ट हिर्काइस्? हेर्, म तेरो बाटो छेक्न आएको छु, किनभने मेरो सामुन्ने तँ आफ्नै जिद्दीमा हिँड्दैछस्। त्यस गधाले मलाई देखेर अहिलेसम्म तीन पल्ट मेरो सामुबाट तर्क्यो। मबाट त्यो नतर्केको भए अहिलेसम्म म तँलाई मारिसक्नेथिएँ, तर त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।” बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु। मेरो बाटो छेकेर तपाईं खड़ा हुनुभएको मलाई थाहा थिएन। यसकारण तपाईंको नजरमा यो बेठीक छ भने म फेरि फर्किजानेछु।” परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा। तर म जे-जे कुरा भन्छु, त्यही मात्र तैंले बोल्।” यसकारण बालाम बालाकका मुख्य व्यक्तिहरूका साथमा गए। बालाकले बालाम आएका कुरा सुनेर आफ्नो देशको छेउको अर्नोन सिमानामा भएको मोआबी सहरसम्मै तिनलाई भेट्न गए। बालाकले बालामलाई भने, “तपाईंलाई मैले डाक्न मान्छे पठाएँ, तर तपाईं किन मकहाँ आउनुभएन? तपाईंको इज्जत म बढ़ाउन सक्नेथिइनँ र?” तब बालामले बालाकलाई भने, “हेर्नुहोस्, अब म तपाईंकहाँ आएकै छु। केही पनि कुरा बोल्ने शक्ति अहिले मसँग छैन। परमेश्वरले मलाई जे आज्ञा गर्नुहुन्छ त्यही मात्र मैले बोल्नुपर्छ।” तब बालाम बालाकसित गए, र तिनीहरू किर्यत-हुसोतमा आए। बालाकले साँढ़े र भेड़ा बलि गरेर बालाम र उनीसित आएका मुख्य व्यक्तिहरूलाई दिए। भोलिपल्ट बिहान बालाकले बालामलाई लिएर बमोत-बालमा उक्लेर गए। त्यहाँबाट बालामले मानिसहरूको केही भागसम्म देखे।
गन्ती 22 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 22:21-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू