तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए। तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने। तब तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा यसो भन्न लागे, “यस उजाड़-स्थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो।” तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे। अनि मोशाकहाँ आएर मानिसहरूले भने, “परमप्रभु र तपाईंको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं। उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्।” तब मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे। परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्या। सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्।” तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे। इस्राएलीहरूले यात्रा गरेर ओबोतमा पाल टाँगे। अनि ओबोतबाट यात्रा गरेर मोआबको सामुन्ने पूर्वतिर इये-अबारीमको उजाड़-स्थानमा तिनीहरूले पाल टाँगे। त्यहाँबाट तिनीहरू यात्रा गरेर जेरेदको बेँसीमा पाल टाँगे। त्यहाँबाट तिनीहरू यात्रा गरेर एमोरीहरूको सिमानाबाट निस्कने उजाड़-स्थानमा भएको अर्नोन खोलाको पारिपट्टि पाल टाँगे। अर्नोन खोला मोआबको सिमाना हो, जो मोआबी र एमोरीहरूका बीचमा पर्छ। यसकारण परमप्रभुका युद्धको पुस्तकमा यस्तो लेखिएको छ: “सूपाको वाहेब र खोलाहरू, र अर्नोनको खोला, र बेँसीका ओह्रालाहरू, जो आर सहरतिर लागेर मोआबको सिमानासम्म गएको छ।” त्यहाँबाट तिनीहरू बेओरमा गए। परमप्रभुले मोशालाई “मानिसहरू जम्मा गर्, र म तिनीहरूलाई पानी दिनेछु” भन्नुभएको कूवा त्यहीँ थियो।
गन्ती 21 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 21:4-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू