मोशाले तिनीहरूलाई कनान देशको भेद लिन पठाएर तिनीहरूलाई भने, “यहाँबाट लागेर नेगेव भनिने दक्षिण क्षेत्रबाट पहाड़तिर जाओ, र देश कस्तो छ, त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि निर्धा छन्, धेरै छन् कि थोरै छन् सो पत्ता लगाओ। उनीहरू बसेको देश असल कि खराब, कस्तो छ, र उनीहरू छाउनीमा कि किल्लामा, कस्ता सहरमा बस्दारहेछन्? जमिन कस्तो छ, मलिलो कि रूखो, त्यहाँ जङ्गल छ कि छैन सो हेर। साहस गर, र त्यहाँको केही फलफूल ल्याओ।” त्यस बेला प्रथम दाख पाक्ने ऋतु थियो।
यसैले तिनीहरू उक्लेर गई जीनको उजाड़-स्थानबाट लेबो-हमाततिरको रहोबसम्म त्यस देशको भेद लिए। तिनीहरू नेगेवतिरबाट उक्लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्तान अहीमन, शेशै र तल्मै बस्थे। हेब्रोनचाहिँ मिश्रको सोअन सहरभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो। त्यसपछि तिनीहरू एश्कोलको बेँसीमा गए, र त्यहाँबाट दाखका हाँगाको एक झुप्पा काटेर एउटा घोचोमा हाली दुई जनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए। इस्राएलीहरूले त्यहाँबाट त्यो झुप्पा काटेको हुनाले त्यस ठाउँको नाउँ एश्कोलको बेँसी राखिएको हो। चालीस दिनको अन्तमा त्यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के।
तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्पूर्ण वृत्तान्त बताइदिए, र तिनीहरूलाई त्यस देशका फलफूल देखाए। तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्यौं। साँच्ची नै त्यहाँ दूध र मह बग्दारहेछन्, अनि त्यसको फलफूल यही हो। तर त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन् र सहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला-ठूला रहेछन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तानहरू पनि देख्यौं। नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दारहेछन्।”
तब कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी तुरुन्त त्यहाँ गएर त्यो देश कब्जा गरौं, किनभने त्यो हामी अवश्य जित्न सक्छौं।”
तर तिनीसँग जाने मानिसहरूले भने, “ती मानिसहरूका विरुद्धमा जान हामी सक्नेछैनौं, किनकि ती हामीभन्दा बलिया छन्।” भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इस्राएलीहरूलाई भने, “हामीले भेद लिएर आएको देशले त आफ्नै बासिन्दाहरूलाई निलिहाल्दोरहेछ, र हामीले त्यहाँ देखेका मानिसहरू दैत्यजस्ता रहेछन्। त्यहाँ हामीले नेफिलीमहरू देख्यौं, जसबाट अनाकका सन्तान आएका छन्। उनीहरूका सामु त हामी आफैलाई फटेङ्ग्राजस्तै लाग्यो। तिनीहरूका नजरमा हामीहरू त्यस्तै देखिन्थ्यौं।”