गन्ती 13:17-26

गन्ती 13:17-26 NNRV

मोशाले तिनीहरूलाई कनान देशको भेद लिन पठाएर तिनीहरूलाई भने, “यहाँबाट लागेर नेगेव भनिने दक्षिण क्षेत्रबाट पहाड़तिर जाओ, र देश कस्‍तो छ, त्‍यहाँ बस्‍ने मानिसहरू बलिया छन्‌ कि निर्धा छन्, धेरै छन्‌ कि थोरै छन्‌ सो पत्ता लगाओ। उनीहरू बसेको देश असल कि खराब, कस्‍तो छ, र उनीहरू छाउनीमा कि किल्‍लामा, कस्‍ता सहरमा बस्‍दारहेछन्‌? जमिन कस्‍तो छ, मलिलो कि रूखो, त्‍यहाँ जङ्गल छ कि छैन सो हेर। साहस गर, र त्‍यहाँको केही फलफूल ल्‍याओ।” त्‍यस बेला प्रथम दाख पाक्‍ने ऋतु थियो। यसैले तिनीहरू उक्‍लेर गई जीनको उजाड़-स्‍थानबाट लेबो-हमाततिरको रहोबसम्‍म त्‍यस देशको भेद लिए। तिनीहरू नेगेवतिरबाट उक्‍लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्‍तान अहीमन, शेशै र तल्‍मै बस्‍थे। हेब्रोनचाहिँ मिश्रको सोअन सहरभन्‍दा सात वर्ष पहिले निर्माण गरिएको थियो। त्‍यसपछि तिनीहरू एश्‍कोलको बेँसीमा गए, र त्‍यहाँबाट दाखका हाँगाको एक झुप्‍पा काटेर एउटा घोचोमा हाली दुई जनाले बोकेर ल्‍याए। तिनीहरूले अनार र नेभारा पनि ल्‍याए। इस्राएलीहरूले त्‍यहाँबाट त्‍यो झुप्‍पा काटेको हुनाले त्‍यस ठाउँको नाउँ एश्‍कोलको बेँसी राखिएको हो। चालीस दिनको अन्‍तमा त्‍यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के। तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्‍पूर्ण वृत्तान्‍त बताइदिए, र तिनीहरूलाई त्‍यस देशका फलफूल देखाए।