गन्ती 10:29-36

गन्ती 10:29-36 NNRV

अनि मोशाले आफ्‍ना ससुरा मिद्यानी रूएलका छोरा होबाबलाई भने, “परमप्रभुले हामीलाई दिनेछु भन्‍नुभएको ठाउँमा हामी जाँदैछौं। तपाईं पनि हामीसितै आउनुहोस्, हामी तपाईंलाई हित नै गर्नेछौं, किनभने परमप्रभुले इस्राएलको बारेमा शुभ प्रतिज्ञा गर्नुभएको छ।” तर उनले तिनलाई भने, “म जान्‍नँ। म आफ्‍नै देश र आफ्‍नै कुटुम्‍बकहाँ फर्कनेछु।” तर मोशाले भने, “बिन्‍ती छ, हामीलाई नछोड्‌नुहोस्‌। तपाईंलाई हामीले उजाड़-स्‍थानमा कहाँ-कहाँ छाउनी हाल्‍नुपर्छ सो थाहा छ, अनि तपाईं हाम्रा निम्‍ति आँखा हुन सक्‍नुहुनेछ। तपाईं हामीसँग आउनुभयो भने परमप्रभुले हामीलाई जे दिनुहुन्‍छ हामी तपाईंसित बाँड्‌नेछौं।” अनि परमप्रभुको डाँड़ाबाट तिनीहरूले तीन दिनसम्‍म यात्रा गरे। अनि परमप्रभुका करारको सन्‍दूक बोक्‍नेहरू तिनीहरूका निम्‍ति वास बस्‍ने ठाउँ खोज्‍न ती तीन दिनसम्‍म अगिअगि गए। तिनीहरू छाउनीबाट हिँड्‌दा परमप्रभुको बादल दिउँसो तिनीहरूमाथि रहन्‍थ्‍यो। जब सन्‍दूक अगि लगिन्‍थ्‍यो, तब मोशाले यसो भन्‍थे, “हे परमप्रभु, उठ्‌नुहोस्, तपाईंका शत्रुहरू तितरबितर होऊन्‌। तपाईंलाई तिरस्‍कार गर्नेहरू तपाईंका अगिअगि भागून्‌।” अनि सन्‍दूकले विश्राम गर्दा तिनले यसो भन्‍थे, “हे परमप्रभु, इस्राएलका हजारौँ हजारकहाँ फर्केर आउनुहोस्‌।”