अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्वर, जो अनन्तदेखि अनन्तसम्म हुनुहुन्छ, उहाँको प्रशंसा गर।”
तपाईंको महिमित नाउँ धन्यको र सारा धन्य र प्रशंसामा सर्वोच्च होस्। तपाईं मात्र परमप्रभु हुनुहुन्छ। तपाईंले नै स्वर्ग, सर्वोच्च आकाश, र त्यसका सबै तारामण्डल, पृथ्वी र त्यसमा भएका सबै थोक, र समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका सारा समुदायले तपाईंलाई पुज्दछन्।
“तपाईं ती नै परमप्रभु परमेश्वर हुनुहुन्छ, जसले अब्रामलाई कल्दीहरूको ऊरबाट चुनेर निकालिल्याउनुभयो र तिनलाई अब्राहाम नाउँ राख्नुभयो। तिनी तपाईंप्रति विश्वासी भएका तपाईंले पाउनुभयो, र तिनका सन्तानलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिने करार तिनीसित बाँध्नुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ, किनभने तपाईं धर्मी हुनुहुन्छ।
“तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूले पाएको दु:ख देख्नुभयो, र लाल सुमद्रमा सहायताको निम्ति कराएको तिनीहरूको पुकारा तपाईंले नै सुन्नुभयो। फारो र उनका अधिकृतहरू र उनको देशका सबै मानिसहरूका विरुद्धमा चिन्ह र आश्चर्य कामहरू तपाईंले गर्नुभयो, किनकि उनीहरूले तिनीहरूप्रति अहङ्कारपूर्वक व्यवहार गरेका तपाईंले देख्नुभयो। तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्नुभयो, जो आजको दिनसम्म छँदैछ। तिनीहरू सुक्खा जमिनमा हिँड़िजान तिनीहरूका सामुन्ने समुद्रलाई दुई भाग पारिदिनुभयो, तर उर्लंदो पानीमा ढुङ्गा फालेझैँ ती खेद्नेहरूलाई तपाईंले फालिदिनुभयो। तिनीहरूले यात्रा गरेको बाटोमा प्रकाश दिन दिउँसो बादलको खामो र राती आगोको खामोद्वारा डोर्याएर तपाईंले तिनीहरूलाई लानुभयो।
“तपाईं सीनै पर्वतमाथि ओर्लनुभयो र स्वर्गबाट तिनीहरूसित कुरा गर्नुभयो। तपाईंले तिनीहरूलाई उचित र साँचो नियम तथा कानून र असल धर्म-विधिहरू तथा आज्ञाहरू दिनुभयो। आफ्ना दास मोशाद्वारा पवित्र शबाथ तिनीहरूलाई अवगत गराउनुभयो, र आफ्नो प्रजालाई आज्ञाहरू, धर्म-विधिहरू र नियमहरू दिनुभयो। तिनीहरूको भोक मार्नलाई तपाईंले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेटाउन तिनीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो। तिनीहरूलाई दिन्छु भनी तपाईंले हात उठाएर करार गर्नुभएको देश अधिकार गर्नलाई पस्न भनी तपाईंले हुकुम गर्नुभयो।
“तर हाम्रा पुर्खाहरू हठी र अटेरी भएर तपाईंका आज्ञाहरू उल्लङ्घन गरे। आज्ञापालन गर्न तिनीहरूले इन्कार गरे, र तिनीहरूका बीचमा तपाईंले गर्नुभएका आश्चर्यकर्महरूलाई तिनीहरूले यादै गरेनन्। तिनीहरू अटेरी भए, र आफ्नो दासत्वमा फेरि लैजान तिनीहरूले एक जना अगुवालाई नियुक्त गरे। तर तपाईं क्षमा गर्नुहुने परमेश्वर, अनुग्रही र कृपालु, रिसानीमा ढिला र प्रेमले पूर्ण हुनुहुन्छ। यसैले तिनीहरूलाई तपाईंले त्याग्नुभएन, यद्यपि तिनीहरूले ढलौटे बाछा बनाएर यसो पनि भने, ‘तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउने तिमीहरूका ईश्वर यही हो,’ अथवा जब तिनीहरूले भयानक ईश्वर-निन्दा गरे।