नहेम्‍याह 6:1-9

नहेम्‍याह 6:1-9 NNRV

मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्‍यसमा एउटै पनि प्‍वाल नरहेको खबर सन्‍बलत, तोबिया, र अरबी गेशेम र हाम्रा अरू बाँकी शत्रुहरूका कानमा पुग्‍यो। केवल मैले मूल ढोकाहरूका खापाहरूचाहिँ उभ्‍याइसकेको थिइनँ। सन्‍बलत र गेशेमले मलाई ओनोका बेँसीको एउटा गाउँमा आएर उनीहरूसित बातचीत गर्नलाई खबर पठाए। तर मलाई हानि गर्न यो उनीहरूको षड्‌यन्‍त्र मात्र थियो। यसैकारण मैले यस्‍तो जवाफ दिएर समाचार पठाएँ, “अहिले मेरो हातमा ठूलो योजना छ। म त्‍यहाँ आउन सक्‍दिनँ। काम छोड़ी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?” उनीहरूले मलाई चार पल्‍ट यस्‍तै खबर पठाए, र प्रत्येक पल्‍ट मैले उनीहरूलाई त्‍यस्‍तै जवाफ दिएँ। पाँचौँ पल्‍ट सन्‍बलतले आफ्‍नो सहायकसित त्‍यस्‍तै किसिमको खबर पठाए। त्‍यो समाचारवाहक खुला पत्र लिएर मकहाँ आयो। त्‍यसमा यस्‍तो लेखिएको थियो: “जातिहरूका बीचमा यस्‍तो कुरा फैलिएको छ, र यस कुरालाई गेशेमले पनि पुष्‍टि गर्दछन्, कि तिमी र यहूदीहरूले विद्रोहको षड्‌यन्‍त्र रच्‍दैछौ, यसैकारण त तिमीहरूले पर्खाल पुनर्निर्माण गरिरहेका छौ। अनि यस्‍तो पनि सुनिँदैछ, कि तिमी आफैचाहिँ राजा हुन लागेका छौ। र तिमीले आफ्‍नो विषयमा यरूशलेममा यही घोषणा गर्न अगमवक्ताहरू नियुक्त गरेका छौ: ‘यहूदामा राजा छन्‌।’ महाराजाले निश्‍चय नै यो कुरा सुन्‍नुहुनेछ। यसैले झट्टै यस विषयमा कुरा गर्न आऊ, र हामी कुरा गरौं।” तर मैले यस्‍तो जवाफ पठाएँ, “तिमीले दोष लगाएको कुनै पनि कुरो साँचो छैन। यी सबै मन गड़न्‍ते कुरा हुन्‌।” हाम्रा परिश्रम गर्ने हातहरू दुर्बल होऊन्‌ र हाम्रो काम कहिल्‍यै नसिद्धिओस्‌ भन्‍ने आशाले उनीहरूले हामीलाई घुर्की दिने चेष्‍टा गर्दैथिए। तर मैले प्रार्थना गरें, “अब हे परमेश्‍वर, मेरा हात बलिया पार्नुहोस्‌।”