मर्कूस 6:17-29

मर्कूस 6:17-29 NNRV

किनभने हेरोदले आफ्‍नो भाइ फिलिपकी पत्‍नी हेरोदियासको खातिर यूहन्‍नालाई पक्रन लाएर तिनलाई बाँधी झ्‍यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए। किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्‍नो भाइकी श्रीमती राख्‍नु तपाईंलाई न्‍यायसङ्गत छैन।” यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्‍थिन्, तर सकेकी थिइनन्‌। किनकि यूहन्‍नालाई एक धर्मात्‍मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्‍नाको शिक्षा सुन्‍दा उनी साह्रै विचलित हुन्‍थे, तापनि खुसीसित सुन्‍थे। तर अनुकूल मौका त्‍यस बेला आयो, जब हेरोदले आफ्‍नो जन्‍मोत्‍सवमा आफ्‍ना उच्‍च पदाधिकारीहरू, अधिकृतहरू र गालीलका मुख्‍य-मुख्‍य मानिसहरूलाई ठूलो भोज दिए। किनकि जब हेरोदियासकी आफ्‍नै छोरी भित्र आएर नाची, तब तिनले हेरोद र उनका अतिथिहरूलाई खुसी तुल्‍याई। अनि राजाले त्‍यस केटीलाई भने, “तिमीलाई जे इच्‍छा लाग्‍छ सो माग, र म तिमीलाई दिनेछु।” तिनले शपथ खाएर त्‍यसलाई भने, “तिमी मसँग जे माग्‍छ्यौ म मेरो आधा राज्‍यसम्‍म पनि तिमीलाई दिनेछु।” अनि त्‍यसले बाहिर निस्‍केर आफ्‍नी आमालाई सोधी, “म के मागूँ?” तिनले भनिन्, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर।” त्‍यो झट्टै आतुरीसाथ भित्र राजाकहाँ गई, र यसो भनेर मागी, “हजूरले अहिले मलाई बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर थालमा दिनुहोस्‌ भन्‍ने म इच्‍छा गर्दछु।” राजा अत्‍यन्‍तै दुःखित भए, तर उनले आफ्‍नो शपथ र भोजमा बस्‍ने अतिथिहरूका खातिर त्‍यस केटीलाई दिएको वचन तोड्‌न चाहेनन्‌। राजाले तुरुन्‍तै गारदको एक जना सिपाहीलाई पठाएर यूहन्‍नाको शिर ल्‍याउने हुकुम दिए। अनि त्‍यसले झ्‍यालखानमा गएर यूहन्‍नाको शिर काट्यो, र तिनको शिर थालमा ल्‍याएर केटीलाई दियो, र केटीले त्‍यो त्‍यसकी आमालाई दिई। यूहन्‍नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे।