मर्कूस 6:1-13

मर्कूस 6:1-13 NNRV

त्‍यहाँबाट निस्‍केर उहाँ आफ्‍नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे। शबाथ-दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्‍नुभयो। धेरै जना सुन्‍नेहरूले छक्‍क परेर भने, “यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्‍तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली? के यिनी त्‍यही सिकर्मी होइनन्‌ र? के यिनी त मरियमका छोरा तथा याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन्‌ र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन्‌ र?” अनि तिनीहरू उहाँसँग चिढ़िए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्तालाई आफ्‍नो देश र आफ्‍नो नातादारहरूका बीचमा र आफ्‍नै घरमा बाहेक अन्‍त कहीँ अनादर हुँदैन।” र उहाँले त्‍यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्‍ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्‍नुभएन। तिनीहरूको अविश्‍वास देखेर उहाँ छक्‍क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो। उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्‍माहरूमाथि अधिकार पनि दिनुभयो। तिनीहरूलाई उहाँले यस्‍तो आज्ञा दिनुभयो: “यात्राको निम्‍ति साथमा केही नबोक्‍नू, न त रोटी, न झोला, न खल्‍तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्‍नू। जुत्ता लाउनू, तर अरू बढ़ी दौरा नबोक्‍नू।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब कुनै घरमा पसौला, जबसम्‍म त्‍यस गाउँबाट निस्‍कँदैनौ तबसम्‍म त्‍यहीँ नै बस। यदि कुनै ठाउँमा तिमीहरूको स्‍वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्‍न इन्‍कार गरे भने, त्‍यस ठाउँबाट तिमीहरू निस्‍कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्‍नो पैतालाको धुलो टकटक्‍याइदिनू।” तब तिनीहरू निस्‍केर गई मानिसहरूले पश्‍चात्ताप गरून्‌ भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।