पछिबाट फेरि उहाँ सभाघरमा पस्नुभयो। त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो। कतै उहाँले त्यसलाई शबाथ-दिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए। तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यता आऊ।” उहाँले तिनीहरूलाई भन्नुभयो, “शबाथ-दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुनचाहिँ उचित छ?” तर तिनीहरू चूप लागिरहे। तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्यो र त्यसको हात निको भयो। तब निस्केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे। त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो। यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो। भीड़ले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो। उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो।
मर्कूस 3 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 3:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू