बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो। अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ।” येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “परमेश्वरमा विश्वास राख। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ। जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्। [तर क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”] उहाँहरू फेरि यरूशलेममा आउनुभयो। अनि येशू मन्दिरमा यताउता हिँड़िरहनुहुँदा मुख्य पूजाहारीहरू, शास्त्रीहरू, धर्म-गुरुहरू उहाँकहाँ आए। तिनीहरूले उहाँलाई प्रश्न गरे, “कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो?” येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु, र तिमीहरूले त्यसको जवाफ देओ, र कुन अधिकारले म यी काम गर्दछु, सो तिमीहरूलाई भन्नेछु। यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ।” तब तिनीहरू यसो भन्दै आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भनेता ‘तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ’ भनी तिनले भन्नेछन्। ‘मानिसहरूबाट’ भनौं कि” तर यसो भन्न उनीहरू जनतादेखि डराए। किनकि सबैले यूहन्नालाई साँचो अगमवक्ता भनी ठान्थे। तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।” येशूले तिनीहरूलाई भन्नुभयो, “म पनि कुन अधिकारद्वारा यी काम गर्दछु, सो तिमीहरूलाई भन्दिनँ।”
मर्कूस 11 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 11:20-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू