भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो। अनि टाढ़ामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन। तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस्।” अनि यो भनेको उहाँका चेलाहरूले सुने। अनि यरूशलेममा पुग्नुभएपछि उहाँ मन्दिरभित्र पस्नुभयो, अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबिलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनुभयो। उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनुभएन। अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्म मानेका थिए। साँझ पर्दा उहाँ सहर बाहिर निस्केर जानुभयो। बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो। अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ।” येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “परमेश्वरमा विश्वास राख। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ। जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्। [तर क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”]
मर्कूस 11 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 11:12-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू