मर्कूस 11:1-19

मर्कूस 11:1-19 NNRV

जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्‍ने ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र पस्‍दापस्‍दै तिमीहरूले अहिलेसम्‍म कोही मानिस नचढ़ेको एउटा गधाको बछेड़ो भेट्टाउनेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ। कसैले तिमीहरूलाई ‘यो के गरेको?’ भन्‍यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन।” तब तिनीहरू गए, र त्‍यो बछेड़ो खुला गल्‍लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्‍यसलाई फुकाए। त्‍यहाँ उभिएकाहरूमध्‍ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?” येशूले तिनीहरूलाई अह्राउनुभएजस्‍तै तिनीहरूले भने, र उनीहरूले तिनीहरूलाई जान दिए। तिनीहरूले बछेड़ो येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू त्‍यसमाथि राखिदिए, र उहाँ त्‍यसमाथि सवार हुनुभयो। धेरैले आफ्‍ना वस्‍त्रहरू र अरूहरूले मैदानबाट स्‍याउलाहरू काटेर बाटोमा ओछ्याए। अनि उहाँको अगि-अगि हिड्‌ने र पछिपछि आउनेहरूले यसो भन्‍दै जय-ध्‍वनि लगाए, “होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! धन्‍य होस्, हाम्रा पिता दाऊदको त्‍यो आउने राज्‍य, परमधाममा होसन्‍ना!” उहाँ यरूशलेममा आएर मन्‍दिरभित्र पस्‍नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले बाह्रै जनाका साथमा उहाँ बेथानिया जानुभयो। भोलिपल्‍ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो। अनि टाढ़ामा पातले भरिएको एउटा अञ्‍जीरको रूख देखेर कतै त्‍यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्‍यहाँ पुग्‍नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्‍यस बेला अञ्‍जीरको फल फल्‍ने समय भएको थिएन। तब उहाँले त्‍यस रूखलाई भन्‍नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस्‌।” अनि यो भनेको उहाँका चेलाहरूले सुने। अनि यरूशलेममा पुग्‍नुभएपछि उहाँ मन्‍दिरभित्र पस्‍नुभयो, अनि मन्‍दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्‍नुभयो र पैसा साट्‌नेका टेबिलहरू र परेवा बेच्‍नेका बस्‍ने ठाउँहरू पल्‍टाइदिनुभयो। उहाँले कसैलाई कुनै थोक मन्‍दिरबाट लैजान दिनुभएन। अनि उहाँले शिक्षा दिँदै भन्‍नुभयो, “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्‍ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” अनि मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्‍न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्‍म मानेका थिए। साँझ पर्दा उहाँ सहर बाहिर निस्‍केर जानुभयो।