मर्कूस 1:21-28

मर्कूस 1:21-28 NNRV

तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्‍तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्‍नुभयो। अनि तिनीहरू उहाँका शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्‍त्रीहरूले जस्‍तो होइन, तर अधिकारसँग सिकाउनुभयो। त्‍यही बेला त्‍यस सभाघरमा अशुद्ध आत्‍मा भएको एक जना मान्‍छे थियो। त्‍यसले यसो भन्‍दै चिच्‍च्‍यायो, “हे नासरतका येशू, हामीलाई तपाईंसँग के सरोकार? के तपाईं हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईंलाई चिन्‍छु, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।” तर येशूले त्‍यसलाई यसो भन्‍दै हकार्नुभयो, “चूप लाग्‌, र त्‍यसबाट निस्‍किजा।” त्‍यस मान्‍छेलाई लछारपछार पार्दै त्‍यो अशुद्ध आत्‍मा ठूलो स्‍वरले चिच्‍च्‍याएर त्‍यस मान्‍छेबाट निस्‍किगयो। तब सबै जनाले अचम्‍म माने, र तिनीहरू यसो भन्‍दै आपसमा सोधासोध गर्न लागे, “यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्‍माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्‍दारहेछन्‌।” अनि चाँड़ै नै येशूको कीर्ति गालीलको इलाका वरिपरि चारैतिर फैलियो।