मीका 5:2-7

मीका 5:2-7 NNRV

“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ।” यसकारण जबसम्‍म प्रसववेदनामा परेकीले जन्‍माउँदिन र उहाँका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्‍न आउँदैनन्, त्‍यस समयसम्‍म इस्राएल त्‍यागिनेछ। उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्‍ना परमेश्‍वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्‍ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्‍वीको पल्‍लो छेउसम्‍मै उहाँको महानता पुग्‍नेछ। अनि उहाँ तिनीहरूका शान्‍ति हुनुहुनेछ। जब अश्‍शूरीहरू हाम्रो देशमा आउँछन्‌ र हाम्रा किल्‍लाहरूलाई आक्रमण गर्छन्, तब हामी तिनीहरूको विरुद्धमा सात गोठाला अथवा आठ मुखियाहरू खड़ा गर्नेछौं। तिनीहरूले अश्‍शूर देशलाई तरवारले र निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्‌। जब अश्‍शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न आउँछन्‌ र हाम्रो सिमानामा कुल्‍चन्‍छन्, तब उहाँले हामीहरूलाई अश्‍शूरीहरूका हातबाट छुटकारा दिनुहुनेछ। याकूबका बाँकी रहेकाहरूचाहिँ धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरीझैँ हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसजातिलाई पर्खन्‍छ।