यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा मोरेशेतमा बस्ने मीकाकहाँ आएको परमप्रभुको वचन— यो दर्शन जो तिनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए। हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन। हे पृथ्वी र त्यसमा भएका सबै, ध्यानसित सुन, कि परमप्रभु आफ्नो पवित्र मन्दिरबाट, परमप्रभु परमेश्वर नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्। हेर, परमप्रभु आफ्नो वासस्थानदेखि आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लनुहुन्छ र पृथ्वीका उच्च स्थानहरूमा टेक्नुहुन्छ। आगोमा मैन पग्लेजस्तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्। यी सबै याकूबको अपराधको कारण र इस्राएलका घरानाका पापको कारणले गर्दा भएका हुन्। याकूबको अपराध के हो त? के त्यो सामरिया होइन? यहूदाको अग्लो स्थान के हो? के त्यो यरूशलेम होइन? “यसकारण म सामरियालाई रोड़ा-ढुङ्गाको थुप्रो र दाखबारी लाउने ठाउँ बनाइदिनेछु। म त्यसका ढुङ्गाहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरू नाङ्गा बनाइदिनेछु। त्यसका सबै मूर्तिहरू टुक्रै-टुक्रा पारिनेछन्। त्यसका सबै मन्दिरका उपहारहरू आगोले जलाइनेछन्। त्यसका सबै मूर्तिहरू म ध्वंस पारिदिनेछु। ती उपहारहरू वेश्याको ज्यालाबाट त्यसले सञ्चय गरेकी हुनाले, वेश्याकै ज्यालाहरूझैँ ती फेरि प्रयोग गरिनेछन्।” यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्नेछु। म स्यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु। किनकि त्यसको घाउ निको हुनेछैन। त्यो यहूदासम्म आएको छ। त्यो मेरो प्रजाको ढोकासम्म पुगेको छ, अर्थात् यरूशलेमसम्मै पुगेको छ।
मीका 1 पढ्नुहोस्
सुन्नुहोस् मीका 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मीका 1:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू