मत्ती 7:21-28

मत्ती 7:21-28 NNRV

“मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ। त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’ अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’ “यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो। अनि पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र पनि त्‍यो घर ढलेन। किनकि त्‍यो चट्टानमाथि बसालिएको थियो। जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्‍यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्‍छ, जसले आफ्‍नो घर बालुवामाथि बनायो। पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र त्‍यो घर ढल्‍यो, अनि त्‍यसको ठूलो विनाश भयो।” येशूले यी कुरा भनिसक्‍नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्‍क पर्‍यो।