मत्ती 5:3-16

मत्ती 5:3-16 NNRV

“धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌। धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌। धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌। धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌। धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। “धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌। तब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। “तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन। “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ। यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।