मत्ती 5:1-12

मत्ती 5:1-12 NNRV

भीड़लाई देखेर उहाँ डाँड़ामा उक्‍लनुभयो, र उहाँ बस्‍नुभएपछि चेलाहरू उहाँकहाँ आए। उहाँले मुख खोल्‍नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्‍नुभयो: “धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌। धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌। धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌। धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌। धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। “धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌। तब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।