मत्ती 28:1-15

मत्ती 28:1-15 NNRV

शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्‍यालो हुँदा मरियम मग्‍दलिनी र अर्की मरियम चिहान हेर्न आए। ठूलो भूकम्‍प गयो, किनकि परमप्रभुका एउटा दूत स्‍वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्‍यसमाथि बसे। तिनको रूप बिजुलीजस्‍तो र पोशाक हिउँजस्‍तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्‍य भए। तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्‍दैछौ। उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिमीहरूभन्‍दा अगाडि गालीलमा जाँदैहुनुहुन्‍छ। तिमीहरूले उहाँलाई त्‍यहाँ देख्‍नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।” अनि तिनीहरू डर र अति आनन्‍दसँग झट्टै चिहानबाट निस्‍केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे। अकस्‍मात्‌ येशूले तिनीहरूलाई भेटेर भन्‍नुभयो, “शान्‍ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्‍डवत्‌ गरे। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्‍यहाँ तिनीहरूले मलाई देख्‍नेछन्‌।” जब ती स्‍त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्‍य पूजाहारीलाई त्‍यहाँ भएका घटनाहरूका बारेमा खबर दिए। जब मुख्‍य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्‍लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, “तिमीहरूले भन्‍नू, कि ‘हामी सुतिरहेको बेला त्‍यसका चेलाहरू आएर त्‍यसलाई चोरेर लगेछन्‌।’ कतै हाकिमको कानमा यो कुरा पुगिहाल्‍यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।” तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।