तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्मै पल्टनलाई उहाँको सामुन्ने भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए। तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।” तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए। उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र पहिराएर उहाँलाई क्रूसमा झुण्ड्याउन लगे। जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एक जना मानिसलाई भेट्टाए, र तिनीहरूले त्यसलाई उहाँको क्रूस बोक्न कर लाए। जब तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्थान भनिन्छ, तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्यो पिउन चाहनुभएन। तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्त्रहरू आपसमा बाँड़े। तब त्यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे। “येशू, यहूदीहरूको राजा “भन्ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए। उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि। त्यहाँबाट आउने-जानेहरूले आ-आफ्नो मुन्टो हल्लाएर उहाँको गिल्ला गरे, र भने, “ए मन्दिर भत्काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्वरको पुत्र होस् भने, क्रूसबाट ओर्लेर तल आइज।” मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्ला गर्दै भने, “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्वास गर्नेछौं। यसले परमेश्वरमा भरोसा राख्छ। परमेश्वरले यसलाई चाहनुहुन्छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्वरको पुत्र हुँ,’ भनी भन्थ्यो।” अनि उहाँसँग क्रूसमा झुण्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।
मत्ती 27 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:27-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू