मत्ती 27:27-37

मत्ती 27:27-37 NNRV

तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्‍मै पल्‍टनलाई उहाँको सामुन्‍ने भेला गराए। तिनीहरूले उहाँको वस्‍त्र फुकालेर उहाँलाई लाल वस्‍त्र लगाइदिए। तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।” तब तिनीहरूले उहाँलाई थुके, र त्‍यो निगालो लिएर उहाँको शिरमा हिर्काए। उहाँको गिल्‍ला गरिसकेपछि तिनीहरूले त्‍यो वस्‍त्र फुकालिदिए, र उहाँको आफ्‍नै वस्‍त्र पहिराएर उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे। जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एक जना मानिसलाई भेट्टाए, र तिनीहरूले त्‍यसलाई उहाँको क्रूस बोक्‍न कर लाए। जब तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्‍थान भनिन्‍छ, तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्‍यो पिउन चाहनुभएन। तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्‍त्रहरू आपसमा बाँड़े। तब त्‍यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे। “येशू, यहूदीहरूको राजा “भन्‍ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्‍तिर टाँसिदिए।