उहाँ बोल्दाबोल्दै, बाह्रमध्येको एक जना, अर्थात् यहूदा आयो। त्यससँग मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो। उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्वाइँ खान्छु, तिनी नै हुन्, तिनैलाई समात।” तुरुन्तै येशूकहाँ गएर त्यसले भन्यो, “हे गुरु, प्रणाम!” र त्यसले उहाँलाई म्वाइँ खायो। येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका छौ, त्यो गरिहाल।” तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्तारी गरे। येशूको साथमा हुनेहरूमध्ये एउटाले हात बढ़ाएर आफ्नो तरवार झिक्यो, र मुख्य पूजाहारीको दासलाई प्रहार गर्यो, र त्यसको कान छिनाइदियो। तब येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्। तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढ़ी मेरो निम्ति पठाइदिनुहुन्न र? तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?” त्यसै बेला येशूले भीड़लाई भन्नुभयो, “डाँकूको विरुद्धमा आएझैँ मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्दिरमा शिक्षा दिँदै बस्थें, र तिमीहरूले मलाई पक्रेनौ। तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे।
मत्ती 26 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:47-56
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू