तब बाह्रमध्ये एक जना यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गयो, र भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ?” तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए। त्यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो।
अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाड़को भोज खाने प्रबन्ध हामी कहाँ गरौं?”
उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ। म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए।
साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।”
तब तिनीहरू साह्रै दुःखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, “प्रभु, के त्यो म हुँ?”
अनि उहाँले भन्नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखेबमोजिम जानेछ। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुनेथियो।”
तब उहाँलाई पक्राइदिने यहूदाले सोध्यो, “गुरुज्यू, के त्यो म हुँ?”
उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैले भन्यौ।”
तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”
तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। तर म तिमीहरूलाई भन्दछु, कि दाखको यस फलबाट म तबसम्म पिउनेछैनँ, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।”
एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्केर जानुभयो।
तब येशूले तिनीहरूलाई भन्नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्ट हुनेछन्।’ तर म मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।”
पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ।”
येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, आजै राती भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्यसै भने।