“यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्। कौसीमा हुनेहरू आफ्ना घरमा भएका सामान निकाल्नलाई तल नझरून्। खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआऊन्। हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा। तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर। किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ। ती दिन नघटाइएका भए कोही मानिस बाँच्न सक्नेथिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्। तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्ट यहाँ छन्, कि त्यहाँ छन्’ भन्यो भने विश्वास नगर। किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्। याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु। “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनी भन्छन् भने बाहिर निस्केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्वास नगर। किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्। “ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्। तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्। उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्।
मत्ती 24 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 24:15-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू