मत्ती 23:13-22

मत्ती 23:13-22 NNRV

“धिक्‍कार, तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्‍ने स्‍वर्गका राज्‍यको ढोका बन्‍द गर्दछौ। तिमीहरू न त आफै पस्‍तछौ, न पस्‍न चाहनेहरूलाई पस्‍न दिन्‍छौ। [ “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्‍छौ, र लामो-लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्‍दा तिमीहरूले ज्‍यादा दण्‍ड पाउनेछौ।] “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू एक जनालाई आफ्‍नो मतमा ल्‍याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्‍यो तिमीहरूको मतमा आएपछि त्‍यसलाई आफूभन्‍दा दोबर नरकको छोरो बनाउँछौ। “धिक्‍कार तिमीहरूलाई, अन्‍धा अगुवा हो, जसले भन्‍दछौ, ‘कसैले मन्‍दिरको शपथ खाँदा केही हुँदैन, तर मन्‍दिरका सुनको शपथ खाँदा त्‍यस शपथले बाँधिनेछ।’ मूर्ख र अन्‍धा हो, कुनचाहिँ ठूलो हो? सुन कि सुनलाई पवित्र पार्ने मन्‍दिर? ‘कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्‍यसमाथि राखिएको भेटीको शपथ खाँदाचाहिँ शपथले बाँधिनेछ।’ ए अन्‍धा हो, कुनचाहिँ ठूलो हो? भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? यसकारण वेदीको शपथ खानेले वेदीको र त्‍यसमाथिका सबै थोकको शपथ खान्‍छ। मन्‍दिरको शपथ खानेले मन्‍दिर र त्‍यसभित्र वास गर्नुहुनेको शपथ खान्‍छ। स्‍वर्गको शपथ खानेले परमेश्‍वरका सिंहासनको र त्‍यसमाथि विराजमान हुनुहुनेको शपथ खान्‍छ।