मत्ती 21:1-11

मत्ती 21:1-11 NNRV

जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ। त्‍यहाँ पुग्‍ने बित्तिकै तिमीहरूले एउटा गधा र त्‍यसको बछेड़ो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मकहाँ ल्‍याओ। कसैले तिमीहरूलाई केही भन्‍यो भने, ‘प्रभुलाई यिनको जरूरत छ’ भन्‍नू र त्‍यसले तुरुन्‍तै ती पठाइदिनेछ।” अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस्‌ भनेर यो भएको हो, “सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्‍चा, एउटा बछेड़ामाथि।” तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे। तिनीहरूले गधा र त्‍यसको बच्‍चा ल्‍याए, र तीमाथि आफ्‍ना लुगाफाटा ओछ्याए, र उहाँ त्‍यसमाथि बस्‍नुभयो। भीड़मा धेरैले आफ्‍ना वस्‍त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। उहाँको अगि र पछि लागेका भीड यसो भन्‍दै कराए, “दाऊदका पुत्रलाई होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! परमधाममा होसन्‍ना!’ जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्‍चियो। मानिसहरूले सोध्‍न लागे, “यिनी को हुन्‌?” भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्‌।”