अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?”
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्वर्ग-राज्यका रहस्यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन। किनकि जससँग छ, त्यसलाई दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। यसैकारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु:
‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्,
सुन्न त सुन्छन्, तर सुनेर बुझ्दैनन्।’
यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ:
“सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ,
हेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ।
किनकि यी मानिसहरूको हृदय बोधो भएको छ,
र तिनीहरूका कान बहिरा भएका छन्,
र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्,
नत्रता तिनीहरूले आँखाले देख्नेथिए,
कानले सुन्नेथिए,
हृदयले बुझ्नेथिए,
र फर्कनेथिए,
र म तिनीहरूलाई निको पार्नेथिएँ।’
तर तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन्। तिमीहरूका कान धन्य हुन्, किनकि तिनले सुन्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे, तर सुनेनन्।