मत्ती 12:38-50

मत्ती 12:38-50 NNRV

तब शास्‍त्रीहरू र फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्‍यू, हामी तपाईंबाट एउटा चिन्‍ह हेर्न चाहन्‍छौं।” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ। तर यस पुस्‍तालाई योना अगमवक्ताको चिन्‍हबाहेक अरू चिन्‍ह दिइनेछैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्‍वीको गर्भमा तीन दिन र तीन रात रहनेछ। निनवेका मानिसहरू न्‍यायको दिनमा यस पुस्‍ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरेथे, तर हेर, योनाभन्‍दा महान्‌ कोही यहाँ छ। दक्षिणकी महारानी न्‍यायको दिनमा यस पुस्‍ताको साथ खड़ा हुनेछिन्, र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्‍वीको पल्‍लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्‍नलाई आइन्‌। तर हेर, सोलोमनभन्‍दा महान्‌ कोही यहाँ छ। “जब अशुद्ध आत्‍मा मानिसबाट निस्‍केर जान्‍छ, त्‍यो विश्राम खोज्‍दै ओबानो ठाउँतिर डुलिहिँड्‌छ, तर कतै पाउँदैन। तब त्‍यसले भन्‍छ, ‘जहाँबाट म निस्‍केर आएँ, त्‍यहीँ आफ्‍नो घरमा म फर्किजानेछु।’ फर्किआउँदा त्‍यसले घर रित्तो, सफा गरिराखेको, र सजिएको भेट्टाउँछ। तब त्‍यो जान्‍छ र आफूभन्‍दा बढ़ी दुष्‍ट अरू सात वटा भूतात्‍मा आफूसँग ल्‍याउँछ, र भित्र पसेर तिनीहरू त्‍यहाँ वास गर्छन्, र त्‍यस मानिसको पछिल्‍लो दशा अघिल्‍लोभन्‍दा अझ नराम्रो हुन्‍छ। यस दुष्‍ट पुस्‍तालाई पनि त्‍यस्‍तै हुनेछ।” येशू भीड़हरूसँग बोलिरहनुभएको बेला, उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए, र उहाँसँग कुरा गर्न चाहन्‍थे। तब एक जनाले येशूलाई भन्‍यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, र तपाईंसँग कुरा गर्न चाहन्‍छन्‌।” तर उहाँसँग बोल्‍नेलाई येशूले भन्‍नुभयो, “मेरी आमा को हुन्‌? मेरा भाइहरू को हुन्‌?” अनि उहाँले आफ्‍नो हातले चेलाहरूलाई देखाउँदै भन्‍नुभयो, “हेर मेरी आमा र मेरा भाइहरू। किनभने जसले स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्दछ, त्‍यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्‌।”