मत्ती 12:22-30

मत्ती 12:22-30 NNRV

तब उहाँकहाँ भूत लागेको एक जना अन्‍धो र गूँगो मान्‍छे ल्‍याइयो। येशूले त्‍यसलाई निको पार्नुभयो, यतिसम्‍म कि, त्‍यो गूँगो मानिस बोल्‍ने र देख्‍ने भयो। अनि सबै भीड़ले अचम्‍म मानेर भने, “के यिनी दाऊदका पुत्र नै हुन सक्‍छन्‌?” तर यो सुनेर फरिसीहरूले भने, “यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।” तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “आपसमा फूट परेको हरेक राज्‍य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्‍नै बीचमा फाटो पर्‍यो भने टिक्‍नेछैन। यदि शैतानले शैतानलाई निकाल्‍दछ भने, त्‍यो आफ्‍नै विरुद्ध विभाजित हुन्‍छ, र त्‍यसो भए त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ? यदि मैले बालजिबुलद्वारा भूतहरू धपाउँछु भने, तिमीहरूका छोराहरूले चाहिँ कसद्वारा ती निकाल्‍दछन्‌? यसकारण तिनीहरू नै तिमीहरूका न्‍यायकर्ता हुनेछन्‌। तर यदि परमेश्‍वरका आत्‍माद्वारा म भूतहरू धपाउँछु भने परमेश्‍वरको राज्‍य तिमीहरूमा आइसकेको छ। “पहिले बलियो मानिसलाई नबाँधिकन, त्‍यसको घरभित्र पसेर कसले त्‍यसको धनमाल लिएर जान सक्‍छ? त्‍यस बलियो मानिसलाई बाँधेपछि मात्र त्‍यसको घर लुट्‌न सक्‍छ। “जो मेरो साथ छैन, त्‍यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्‍दैन, त्‍यसले छरपष्‍ट पार्छ।