मत्ती 10:5-14

मत्ती 10:5-14 NNRV

येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, “अन्‍यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस। तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ। ‘स्‍वर्गको राज्‍य नजिकै आइपुगेको छ,’ भन्‍दै प्रचार गर। बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्‍ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ। तिमीहरू आफ्‍ना पटुकामा सुन, चाँदी र तामाको सिक्‍का नबोक, यात्राको निम्‍ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ। “जुन सहर कि गाउँमा तिमीहरू पस्‍छौ, त्‍यहाँ को योग्‍य छ भनी खोज, र त्‍यहाँबाट बिदा नभएसम्‍म त्‍यहीँ बस। त्‍यस घरभित्र पस्‍दा अभिवादन गर। त्‍यो घर योग्‍य छ भने, तिमीहरूको शान्‍ति त्‍यस घरमा आओस्‌। तर त्‍यो योग्‍य रहेनछ भने, तिमीहरूको शान्‍ति तिमीहरूमै फर्की आओस्‌। यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्‍यस घर अथवा सहरबाट निस्‍कँदा आफ्‍ना खुट्टाको धुलो टकटक्‍याइदेओ।