लूका 9:10-17

लूका 9:10-17 NNRV

अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्‍ने सहरमा अलग्‍गै जानुभयो। तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो, र परमेश्‍वरका राज्‍यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्‍यकता थियो तिनीहरूलाई निको पार्नुभयो। अब दिन ढल्‍कन लाग्‍यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्‍ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्‍यवस्‍था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खान देओ।” तब तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्‍नुपर्ला। तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए। तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको पंक्‍तिमा बसाओ।” तिनीहरूले त्‍यसै गरे, र सबैलाई बसाए। तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो। अनि सबैले खाए, तृप्‍त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।