लूका 9:1-9

लूका 9:1-9 NNRV

तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्‍ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। उहाँले तिनीहरूलाई परमेश्‍वरका राज्‍यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको यात्रामा आफ्‍नो साथमा केही नलेओ— न लहुरो, न झोली, न रोटी, न पैसा, न त दुई जोर दौरा साथमा होस्‌। जुन घरमा तिमीहरू पस्‍छौ त्‍यहीँ बस, र त्‍यहीँबाट बिदा होओ। जहाँ तिमीहरूको स्‍वागत हुँदैन तिमीहरू त्‍यस सहरबाट निस्‍कँदा आफ्‍ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाहीको निम्‍ति टकटक्‍याइदेओ।” तब तिनीहरू बिदा भए, र सुसमाचार प्रचार गर्दै र सबैतिर रोगीहरूलाई निको पार्दै गाउँ-गाउँ गए। यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्‍योलमा परे, किनकि यूहन्‍ना मृतकबाट जीवित भई उठेका छन्‌ भनेर कसै-कसैले भन्‍थे। र कोही भन्‍थे, “एलिया देखा परेका छन्,” अनि अरूहरूले भन्‍थे, “उहिलेका अगमवक्ताहरूमध्‍ये एक जना उठेका छन्‌।” तब हेरोदले भने, “यूहन्‍नाको शिर मैले काट्‌न लगाएँ, तर यिनी को हुन्‌ जसको विषयमा म यस्‍ता कुराहरू सुन्‍दैछु?” अनि तिनले उहाँलाई भेट्‌ने इच्‍छा गरे।