लूका 8:1-8

लूका 8:1-8 NNRV

त्‍यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्‍वरका राज्‍यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्‍नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए। कतिपय स्‍त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्‍टात्‍मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्‍दलिनी भन्‍ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए, हेरोदका कारिन्‍दा खुजासकी पत्‍नी योअन्‍ना, र सुसन्‍ना। यिनीहरू र अरूहरूले आफ्‍ना धनले उहाँको सेवा गर्दथे। जब ठूलो भीड जम्‍मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो। “एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो, र छर्दाहुँदि केही बाटोको छेउमा परे, र ती मानिसका खुट्टाले कुल्‍चिए, र आकाशका पक्षीले खाइहाले। अरू बीउ ढुङ्गेनी जमिनमा परे, र ती उम्रने बित्तिकै सुके, किनभने त्‍यो जमिन ओबानो थियो। कोही बीउ काँढ़ाको झाँगमा परे, र तिनका साथमा काँढ़ाको झाँग पनि बढ़ेर आयो, र तिनलाई बढ्‌न दिएन। कतिचाहिँ असल जमिनमा परे, र उम्रेर सय गुणा फल फलाए।” यत्ति भनेपछि उहाँले उच्‍च सोरले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।”