लूका 7:11-17

लूका 7:11-17 NNRV

भोलिपल्‍ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए। जब उहाँ सहरको ढोका नजिक पुग्‍नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो। जब प्रभुले तिनलाई देख्‍नुभयो, तब तिनलाई टिठ्याएर भन्‍नुभयो, “नरोऊ।” अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्‍नेहरू टक्‍क अड़िए। उहाँले भन्‍नुभयो, “ए युवक, म तिमीलाई भन्‍दछु, ‘उठ’।” तब मृत मानिस उठेर बस्‍यो, र बोल्‍न लाग्‍यो। येशूले त्‍यसलाई आमाको जिम्‍मा लगाउनुभयो। तब सबै भयभीत भए, र परमेश्‍वरको महिमा गरे, र भने, “एक जना महान्‌ अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्‍वरले आफ्‍नो प्रजामाथि कृपा गर्नुभएको छ।” उहाँको विषयको यो चर्चा सारा यहूदिया र छेउछाउका समस्‍त जिल्‍लाहरूमा फिँजियो।