लूका 6:12-36

लूका 6:12-36 NNRV

ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्‍वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्‍ये बाह्र जनालाई छान्‍नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्‍ने नाउँ दिनुभयो: सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्‍द्रियास, याकूब र यूहन्‍ना, फिलिप र बारथोलोमाइ, मत्ती र थोमा, अल्‍फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्‍थी भनिन्‍थे, याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत, जो विश्‍वासघाती भए। उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्‍गामा खड़ा हुनुभयो। उहाँका शिष्‍यहरूको एउटा ठूलो भीड, र समस्‍त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड उहाँका वचन सुन्‍नलाई र आ-आफ्‍ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्‍माहरूबाट पीडितहरू पनि निको भए। सारा भीड़ले उहाँलाई छुन खोज्‍दथियो, किनकि शक्ति उहाँबाट निस्‍किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो। तब उहाँले आफ्‍ना चेलाहरूमाथि नजर उचालेर भन्‍नुभयो: “धन्‍य तिमी, दीन हुनेहरू, किनभने परमेश्‍वरको राज्‍य तिमीहरूकै हो। धन्‍य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्‍त हुनेछौ। धन्‍य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्‍नेछौ। धन्‍य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्‍कार गर्नेछन्, र गिल्‍ला गर्नेछन्, र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्‌। “त्‍यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्‍यसै गरेथे। “तर धिक्‍कार, तिमी धनीहरू! किनभने तिमीहरूले आफ्‍नो सुख-चैन पाइसकेका छौ। धिक्‍कार, तिमी अहिले तृप्‍त भएकाहरू! किनभने तिमीहरू भोकाउनेछौ। धिक्‍कार, तिमी अहिले हाँस्‍नेहरू! किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। धिक्‍कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे। “तर तिमी सुन्‍नेहरूलाई म भन्‍दछु, आफ्‍ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर, सराप्‍नेहरूलाई आशीर्वाद देओ, दुर्व्‍यवहार गर्नेहरूका निम्‍ति प्रार्थना गर। तिमीलाई एक गालामा चड्‌काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्‍टो खोस्‍नेलाई तिम्रो दौरा पनि लान देओ। तिमीसित माग्‍ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग। जसो मानिसहरूले तिमीहरूसँग गरून्‌ भन्‍ने तिमीहरू इच्‍छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यसै गर। “तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्‌। तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्‍यसै गर्दछन्‌। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्‍छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्‍छन्‌। तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्‍चका सन्‍तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्‍वार्थीमाथि कृपालु हुनुहुन्‍छ। तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।