लूका 6:12-18

लूका 6:12-18 NNRV

ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्‍वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्‍ये बाह्र जनालाई छान्‍नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्‍ने नाउँ दिनुभयो: सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्‍द्रियास, याकूब र यूहन्‍ना, फिलिप र बारथोलोमाइ, मत्ती र थोमा, अल्‍फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्‍थी भनिन्‍थे, याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत, जो विश्‍वासघाती भए। उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्‍गामा खड़ा हुनुभयो। उहाँका शिष्‍यहरूको एउटा ठूलो भीड, र समस्‍त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड उहाँका वचन सुन्‍नलाई र आ-आफ्‍ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्‍माहरूबाट पीडितहरू पनि निको भए।