लूका 4:1-21

लूका 4:1-21 NNRV

येशू पवित्र आत्‍माले परिपूर्ण भएर यर्दनबाट फर्कनुभयो, र आत्‍माले उहाँलाई उजाड-स्‍थानमा लैजानुभयो र चालीस दिनसम्‍म उजाड-स्‍थानमा दियाबलसबाट उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानुभएन, र चालीस दिन समाप्‍त भएपछि उहाँ भोकाउनुभयो। तब दियाबलसले उहाँलाई भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस्, र त्‍यो रोटी बनोस्‌।” येशूले त्‍यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।” त्‍यसले उहाँलाई एउटा उच्‍च स्‍थानमा लगेर एकै क्षणमा जगत्‌का सबै राज्‍यहरू देखायो। दियाबलसले उहाँलाई भन्‍यो, “म यो सारा अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्‍पिएका छन्, र म जसलाई इच्‍छा गर्दछु, त्‍यसलाई दिँदछु। तपाईंले मलाई दण्‍डवत्‌ गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्‌।” येशूले त्‍यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई दण्‍डवत्‌ गर्नू, र उहाँको मात्र सेवा गर्नू’।” तब त्‍यसले उहाँलाई यरूशलेममा लगेर मन्‍दिरको टुप्‍पामा राख्‍यो, र उहाँलाई भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यहाँबाट हामफाल्‍नुहोस्‌। किनभने लेखिएको छ, ‘उहाँले तिम्रो रक्षा गर्न आफ्‍ना स्‍वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्‍नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।” येशूले त्‍यसलाई जवाफ दिनुभयो, “यसो भनिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।” दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्‍म उहाँलाई छोड़ेर गयो। येशू पवित्र आत्‍माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो। उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्‍नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे। उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्‍नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्‌नलाई खड़ा हुनुभयो। उहाँलाई यशैया अगमवक्ताको पुस्‍तक दिइयो। उहाँले त्‍यो पुस्‍तक खोल्‍नुभयो, र यो कुरो लेखिएको खण्‍ड निकाल्‍नुभयो: “परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्‍धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउनका निम्‍ति, र परमप्रभुका प्रसन्‍नताको वर्ष घोषणा गर्नका निम्‍ति उहाँले मलाई पठाउनुभएको छ।” उहाँले पुस्‍तक बन्‍द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्‍नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्‍यो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज धर्मशास्‍त्रको यो वचन तिमीहरूले सुन्‍दासुन्‍दै पूरा भएको छ।”