यसकारण तिनीसँग बप्तिस्मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेताउनी दियो? यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्नपछि नलाग, किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। अहिले बन्चरो रूखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ, र आगोमा फालिनेछ।”
मानिसहरूले यूहन्नालाई सोधे, “त्यसो भए हामीले के गर्ने?”
तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्यू, हामीले के गर्ने?”
तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्दा बेसी नलेओ।”
सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?”
तिनले उनीहरूलाई भने, “कसैमाथि अत्याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्ना तनखामा सन्तुष्ट रहो।”
जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए, र सबै आफ्ना मनमा यूहन्नाको विषयमा शायद यिनी नै ख्रीष्ट हुन् कि भनी विचार गरिरहेका थिए, तब यूहन्नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एक जना मभन्दा शक्तिशाली आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। निफन्ने नाङ्लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्ने आगोमा जलाउनुहुनेछ।” यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे।