लूका 3:1-6

लूका 3:1-6 NNRV

कैसर तिबेरिअसका शासनकालको पन्‍ध्रौँ वर्षमा पन्‍तियस पिलातस यहूदियाका हाकिम थिए। त्‍यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए। हन्‍नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्‍वरको वचन उजाड-स्‍थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो। तिनी पाप-क्षमाको निम्‍ति पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए। यशैया अगमवक्ताका वचनको पुस्‍तकमा यसो लेखिएको छ, “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ। हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्‍ठेरा बाटाहरू सम्‍म हुनेछन्, र सबै प्राणीले परमेश्‍वरको मुक्ति देख्‍नेछन्‌।”