कैसर तिबेरिअसका शासनकालको पन्ध्रौँ वर्षमा पन्तियस पिलातस यहूदियाका हाकिम थिए। त्यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए। हन्नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्वरको वचन उजाड-स्थानमा जकरियाका छोरा यूहन्नाकहाँ आयो। तिनी पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए। यशैया अगमवक्ताका वचनको पुस्तकमा यसो लेखिएको छ,
“उजाड-स्थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ।
हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्ठेरा बाटाहरू सम्म हुनेछन्,
र सबै प्राणीले परमेश्वरको मुक्ति देख्नेछन्।”
यसकारण तिनीसँग बप्तिस्मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेताउनी दियो? यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्नपछि नलाग, किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। अहिले बन्चरो रूखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ, र आगोमा फालिनेछ।”
मानिसहरूले यूहन्नालाई सोधे, “त्यसो भए हामीले के गर्ने?”
तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्यू, हामीले के गर्ने?”
तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्दा बेसी नलेओ।”
सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?”
तिनले उनीहरूलाई भने, “कसैमाथि अत्याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्ना तनखामा सन्तुष्ट रहो।”