तिनीहरूले येशूलाई पक्रेर लगे, र उहाँलाई प्रधान पूजाहारीको घरमा ल्याए। तर पत्रुस टाढ़ैबाट उहाँको पछिपछि लागे। त्यहाँ आँगनको बीचमा आगो बालेर मानिसहरू जम्मा भएर बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँगै बसे। एउटी नोकर्नीले आगोको उज्यालोमा तिनलाई बसिरहेका देखेर नियालेर हेरी, र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”
तर पत्रुसले यसो भनेर इन्कार गरे, “ए नारी, म उहाँलाई चिन्दिनँ।”
केही बेरपछि अर्कोले तिनलाई देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्येकै हौ।”
तर पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”
प्राय: एक घण्टा बितेपछि अर्को एक जनाले जोड दिएर यसो भन्यो, “निश्चय नै यी मानिस तिनीसँगै थिए, किनकि यिनी पनि गालीली नै रहेछन्।”
तर पत्रुसले भने, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोल्दाबोल्दै भाले बास्यो। अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। “आज भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ” भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो। र तिनी बाहिर निस्केर धुरुधुरु रोए।
तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गरे, र पिटे, उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्।” तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्कारपूर्ण कुरा भने।
उज्यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे, र भने, “तँ ख्रीष्ट होस् भने हामीलाई भन्।”
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले बताएँ भने पनि तपाईंहरू पत्याउनुहुन्न। मैले प्रश्न गरे भने पनि तपाईंहरू जवाफ दिनुहुन्न। तर अब मानिसको पुत्र परमेश्वरका शक्तिको दाहिनेपट्टि बस्नेछ।”
तब तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?”
उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, “तपाईंहरू नै भन्नुहुन्छ, म उही हुँ।”
तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्यकता छ र? किनकि हामीले त्यसकै मुखबाट सुनिहाल्यौं।”