लूका 22:24-32

लूका 22:24-32 NNRV

अब तिनीहरूमध्‍ये सबैभन्‍दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्‍यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अन्‍यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्‍व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्‍छन्‌। तर तिमीहरूचाहिँ यस्‍तो नहोओ। तिमीहरूमध्‍ये जो ठूलो छ, त्‍यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्‌। किनभने ठूलो को हो? भोजन खान बस्‍ने कि सेवा गर्ने? के भोजन खान बस्‍ने होइन? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्‍तै छु। “तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ। जसरी मेरा पिताले मलाई एउटा राज्‍य दिनुभयो, म पनि तिमीहरूलाई दिन्‍छु, ताकि मेरो राज्‍यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्‍याय गरेर सिंहासनहरूमा बस्‍नेछौ। “सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्‍तै निफन्‍ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्‍वास नडगमगाओस्‌ भनेर तिम्रो निम्‍ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्‍थिर गराऊ।”