लूका 21:1-19

लूका 21:1-19 NNRV

उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्‍ना भेटी मन्‍दिरको दानपात्रमा राखेका देख्‍नुभयो। उहाँले एउटी गरीब विधवालाई त्‍यहाँ दुई पैसा चढ़ाएकी पनि देख्‍नुभयो। तब उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यस गरीब विधवाले अरू सबैले भन्‍दा बढ़ी चढ़ाएकी छे। किनकि यिनीहरू सबैले आफ्‍ना प्रशस्‍तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्‍नो दरिद्रताबाट आफ्‍नो सारा जीविका नै दिई।” अब कोही-कोहीले सुन्‍दर-सुन्‍दर ढुङ्गाहरू र दानमा प्राप्‍त भएका सामग्रीहरूले सुसज्‍जित पारिएका मन्‍दिरको विषयमा कुरा गर्न लागे। येशूले भन्‍नुभयो, “तिमीहरूले जे देखिरहेका छौ, यस्‍तो समय आउनेछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, ती जम्‍मै भत्‍किनेछन्‌।” तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, यी सब कहिले हुनेछन्? र यो कुरा हुन लाग्‍दा के चिन्‍ह हुनेछ?” उहाँले भन्‍नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्‌। मेरो नाउँमा धेरै जना ‘म उही नै हुँ’ र ‘बेला नजिक आएको छ,’ भनेर भन्‍छन्‌। तिनीहरूका पछि तिमीहरू नलाग। तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्‍नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्‍त्‍यचाहिँ तुरुन्‍तै हुनेछैन।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राष्‍ट्र, राष्‍ट्रका विरुद्धमा, र राज्‍य, राज्‍यको विरुद्धमा उठ्‌नेछ। भयङ्कर भूकम्‍पहरू हुनेछन्‌। विभिन्‍न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्‍हहरू हुनेछन्‌। “तर यी सबै कुराहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, र सताउनेछन्, र तिमीहरूलाई सभाघरहरूमा सुम्‍पिदिनेछन्, र झ्‍यालखानमा हालिदिनेछन्‌। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्‍ने पुर्‍याउनेछन्‌। तर तिमीहरूका लागि यो एउटा गवाही दिने अवसर हुनेछ। यसकारण आफ्‍नो बचाउको निम्‍ति के भन्‍ने हो सो अघिबाट सोच्‍नेछैनौं भनी आफ्‍ना मनमा पक्‍का गर। किनभने म तिमीहरूलाई यस्‍तो बोल्‍ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्‍युत्तर दिन सक्‍नेछैनन्, अनि खण्‍डन गर्न पनि सक्‍नेछैनन्‌। तर तिमीहरूका आमा-बुबा र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन्, र तिमीहरूमध्‍ये कोही-कोहीलाई तिनीहरूले मार्नेछन्‌। मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्‌। तर तिमीहरूका शिरको एउटा केश पनि नष्‍ट हुनेछैन। तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्‍नो प्राण प्राप्‍त गर्नेछौ।